
ललितपुर, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले आज आफ्नो मनोनयन दर्ता गराउँदै हुनुहुन्छ। हालैको विशेष महाधिवेशनबाट पार्टीको सह–महामन्त्री पदमा निर्वाचित राणालाई कांग्रेसले यस क्षेत्रको उम्मेदवार बनाएको हो।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिका अनुसार आज दिउँसो ठीक ३:०० बजे गोदावरी नगरपालिका भवनस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ। क्षेत्रीय सभापति सुन्दर मान थिङले विज्ञप्ति जारी गर्दै उक्त अवसरमा महासमिति सदस्य, पार्टीका विभिन्न तहका प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ।
केन्द्रीय राजनीतिमा प्रभावशाली छवि बनाएका सह–महामन्त्री राणाको उम्मेदवारीसँगै ललितपुर–१ मा चुनावी रौनक बढेको छ। कांग्रेसले आजको मनोनयन दर्तालाई एक भव्य शक्ति प्रदर्शनको रूपमा लिने तयारी गरेको छ।
@shinenews