भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरुद्धमा काठमाडौंमा विद्यार्थी संगठनहरूको प्रदर्शन


✍️सुशान्त लामा
काठमाडौं, २० पुस:
प्रदर्शनमा पूर्व माओवादी निकट अखिल (क्रान्तिकारी), एमाले निकट अनेरास्ववियु, एकीकृत समाजवादी निकट अनेरास्ववियू, प्रगतिशील लोकतान्त्रिक पार्टी र विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थी नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले अमेरिकाले लोकतन्त्र र मानवअधिकारको झुटो नारा दिएर एउटा स्वतन्त्र राष्ट्रको अस्तित्व र त्यहाँको खनिज तेलमाथि कब्जा जमाउन खोजेको आरोप लगाएका छन्।
विरोध कार्यक्रममा बोल्ने वक्ताहरूले अमेरिकी सत्तालाई 'लुट, हत्या र दासत्वको अन्तर्राष्ट्रिय गिरोह' को संज्ञा दिँदै साम्राज्यवादी कदमको कडा आलोचना गरे। उनीहरूका अनुसार अमेरिकाले भेनेजुएलामा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो अनुकूलको कठपुतली सरकार स्थापना गर्ने असफल प्रयास गरिरहेको छ। भेनेजुएला कुनै उपनिवेश नभएको र त्यहाँका जनता अमेरिकी बम र बारुद भन्दा बलियो चेतनाले सुसज्जित रहेको सन्देश प्रदर्शनका माध्यमबाट दिइएको छ।
हालै अमेरिकी सेनाले भेनेजुएलाको राजधानी कराकासमा हस्तक्षेप गरी राष्ट्रपति निकोलस मादुरोलाई हिरासतमा लिएको खबर बाहिरिएसँगै नेपालका विद्यार्थी संगठनहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भन्दै घोर भत्र्सना गरेका छन्। उनीहरूले वैदेशिक हस्तक्षेप तत्काल बन्द गर्न र राष्ट्रिय स्वाधीनताको सम्मान गर्न माग समेत गरेका छन्।
@News_Hub_Nepal