चौंरीदेउरालीमा कुकुर बन्ध्याकरण अभियान सुरु: रेबिज नियन्त्रण गर्ने लक्ष्य

काभ्रेपलाञ्चोक । काभ्रेको चौंरीदेउराली गाउँपालिकाले भुस्याहा तथा घरपालुवा कुकुरको सङ्ख्या नियन्त्रण गर्न र रेबिज रोगको जोखिम न्यूनीकरण गर्न विशेष बन्ध्याकरण अभियान सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अनुसार आगामी माघ १६ गतेदेखि माघ २२ गतेसम्म सबै ९ वटै वडाहरूमा यो अभियान चल्नेछ। बढ्दो कुकुरको सङ्ख्या र त्यसबाट निम्तिन सक्ने प्राणघातक रेबिज रोगलाई मध्यनजर गर्दै पालिकाले यो कदम चालेको प्रमुख प्रशासकीय अधिकृत मोहन दास लामाले जानकारी दिनुभयो।
सूचना अनुसार माघ १६ गते वडा नं. १ बाट सुरु हुने यो कार्यक्रम २२ गते वडा नं. ८ मा पुगेर समापन हुनेछ। पालिकाले प्रत्येक वडाका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्ति र मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ।
आफ्ना घरपालुवा कुकुरको बन्ध्याकरण गर्न चाहने स्थानीय र समुदायमा रहेका छाडा कुकुरको व्यवस्थापनमा सहयोग गर्न पालिकाले सम्पूर्ण नगरवासीलाई आह्वान गरेको छ। यो अभियानले सडकमा कुकुरको आतंक कम हुने र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।