
काठमाडौं, साउन १। श्री पिङ्गलास्थान एकीकृत समाजको आयोजना, अनाहत नेपाल को सहकार्य तथा सामुदायिक प्रहरी चाबहिल को समन्वयमा पिङ्गलास्थानमा बालबालिका ओसारपसार (Child Trafficking) सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय बासिन्दा, अभिभावक, युवा, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिका ओसारपसारका कारण, जोखिम, त्यसबाट बच्ने उपाय, शंकास्पद गतिविधिको पहिचान तथा समुदायको सक्रिय भूमिकाबारे जानकारी प्रदान गरिएको थियो।
सामुदायिक प्रहरी चाबहिलका प्रतिनिधिहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावक, विद्यालय, समुदाय तथा स्थानीय संस्थाहरूबीच समन्वय र सतर्कता आवश्यक रहेको बताउँदै यस्ता अपराध रोकथाममा सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित सहभागीहरूले बालबालिका ओसारपसार जस्तो गम्भीर सामाजिक अपराध नियन्त्रणका लागि यस्ता सचेतनामूलक अभियानले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा आयोजक श्री पिङ्गलास्थान एकीकृत समाज ले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने अनाहत नेपाल, सामुदायिक प्रहरी चाबहिल, सहभागी अतिथिहरू, स्थानीय बासिन्दा तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ।
"बालबालिकाको सुरक्षा, सबैको साझा जिम्मेवारी" भन्ने सन्देशका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।