
ललितपुर जिल्ला क्षेत्र नं १ निवासी सम्पूर्ण मतदाताज्यूहरूमा नमस्कार !
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार मनोनयन गरेको छु। यहाँहरूको आशा ,भरोसा र चाहनालाई गम्भीरतापूर्वक लिँदै निरन्तर रुपमा ललितपुरबासीको सेवा गर्ने अवसर प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका दिनहरूमा जस्तै निर्वाचनको कार्यक्रममा सहभागी भई हाम्रा साझा अठोट पूरा गर्न यहाँहरूले अमुल्य मत प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
निर्वाचनमा सम्पूर्ण मतदातालाई भयरहित, स्वच्छ र दबाबबिना निर्वाचनको वातावरण बनाउन सरकारलाई अनुरोध समेत गर्दछु।
यतिबेला यो विषम परिस्थितिमा निर्वाचन हुन गैरहेको छ। तर आम मतदाताको विश्वास रहुन्जेलसम्म हरेक कठिन अवस्था पनि अवसरमा बदलिनेछ।
यो मेरो उम्मेदवारी दर्ता हुनु नै गोदावरी नगरपालिकाका १२ वटा वडा, दक्षिण ललितपुरका तीन गाउँपालिकाहरू बागमती, महाङ्काल र कोन्ज्योसोमका गरी ३० वडाका आम जनसमुदायको उम्मेदवारी हो। हिजोका दिनमा कुन दलले के कस्तो गर्यो ? के के अप्ठ्यारा परे ? भन्ने बारेमा एक अर्कामा वैमनस्यता र नकारात्मक कुरा भन्दा हाम्रा प्रयास र पहलकदमीलाई निरन्तर रुपमा हिजोको जस्तै अझै उत्कृष्टता हासिल गर्न लागौँ भन्ने नै हामो अनुरोध छ । दक्षिण ललितपुरका अपुरा कार्यहरुलाई पूरा गर्न र गोदावरी नगरपालिकालाई समृद्ध गोदावरी बनाउनको लागि यहाँहरुबाट सहयोगको अपेक्षा गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु। निरन्तर रुपमा यहाँहरुसँग सम्पर्कमा रहिरहनेछु । जुनसुकै बेला जतिबेला पनि यहाँहरुले भेट, सम्पर्क, प्रतिक्रिया र सुझाव दिन सक्नुहुनेछ।
उही तपाईंहरूकै सेवक
चेतनाथ सञ्जेल
Share this profile