
काठमाडौँ । अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले काठमाडौँ महानगरका मेयर बालेन शाह र आफ्नो सम्बन्धलाई जोडेर आएका समाचारहरूको कडा खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उहाँले आफूसँग कुनै टेस्ला गाडी नभएको र बालेनसँग कहिल्यै भेटसमेत नभएको स्पष्ट पार्नुभएको छ।
"मेरो गाडी एएनवाई (ANY) हो, टेस्ला होइन," कडरियाले भन्नुभयो, "पूर्वाग्रहपूर्ण ढङ्गले अर्कै रातो गाडीको फोटोमा मेरो तस्बिर राखेर भ्रामक प्रचार गरिएको छ।" उहाँले यसअघि पनि आफू बालेनको मन्त्री बन्न लागेको भन्नेजस्ता अफवाहले व्यक्तिगत र राजनीतिक क्षति पुर्याएको बताउनुभयो।
उहाँले आफू सधैँ नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको सिपाही रहेको पुन: पुष्टि गर्नुभएको छ। सस्तो लोकप्रियताका लागि तथ्यहीन समाचार सम्प्रेषण गर्ने मिडियाबाट सचेत रहन उहाँले सबैलाई आग्रह गर्नुभएको छ।।