एमाले परित्याग गरी रामबहादुर र काजीमान नेपाली कांग्रेसमा प्रवेश

बागमती, ललितपुर बागमती गाउँपालिका वडा नं. ७ गिम्दी, मोजेडाँडामा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका दुई सक्रिय नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। विगत लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका रामबहादुर लोप्चन र काजीमान सिंतान एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस बागमती गाउँपालिकाका सभापति एवं गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको प्रमुख आतिथ्यता तथा स्थानीय नेता सिर्जन रुम्बाको विशेष सक्रियतामा उक्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।
नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै सभापति लोप्चनले पार्टीमा उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाउनुभयो। युवा नेता साजन गोलेका अनुसार, उनीहरूको आगमनले गिम्दी क्षेत्रमा कांग्रेसको संगठन थप सुदृढ र बलियो हुने विश्वास लिइएको छ।