लेले जलरुपा सरस्वति मेला भब्य हुने।

हरेक बर्ष झै यो बर्ष पनी लेलेको श्रीपञ्चमी मेलामा हजारौको सङ्ख्यामा हिन्दु धर्मालब्बीहरु जलरुपा सरस्वतिको दर्शन गर्नका लागी आउने अनुमान गरीएको छ।
लेले जलरुपा सरस्वती कुण्डको पानी बालबालिकालाई खुवाएपछि बोल्न नजान्नेको वाक्य फुट्ने र पढ्न नजान्नेको पढाइमा सुधार हुने विश्वास रहँदा धैरै भक्तजनले आफ्ना छोराछोरीलाई सरस्वतीको दर्शन गराउन ल्याइरहेका ज्ञानकुण्ड युवा क्लबका उपाध्यक्ष निकेस श्रेष्ठले बताए । मन्दिरमा साना बालबालिकालाई ल्याएर सात गेडा नकाटिएको अक्षताका साथै कुण्डको जल खुवाउँदा वाक्य फुट्ने अनि बाधा हट्ने मान्यता पनि रहेको छ ।कुण्ड सँगै रहेको अक्षरपाटिमा साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ चलन पनी रहि आएको छ । अर्थात अक्षराम्भको उपयुक्त अवसर मानिन्छ, सरस्वती पूजालाई ।
‘मेलामा पुरुषभन्दा महिला दर्शनार्थीको घुइँचो बढी हुने गर्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गर्ने गरिएको छ, खानेपानी र स्वास्थ्य शिविरको समेत व्यवस्था गरेका छौं,’ उनले भने। मन्दिरमा भक्तजनको भीड लाग्ने हुँदा चोरीलगायत विभिन्न नराम्रा क्रियाकलाप रोक्न सुरक्षाकर्मीका साथसाथै स्वयंसेवक, स्काउट र स्थानीय क्लबसमेतलाई परिचालन गरिरहेको श्रेष्ठले जानकारी गराए।
मन्दिरका पुजारी नयन्द्रप्रसाद भट्टराईका अनुसार भोली श्रीखण्ड चन्दनले बालबालिकाको जिब्रोमा सरस्वतीको मन्त्र लेखिदिँदा सजिलै विद्या आर्जन गर्न सफल हुने बुझाइका साथ मन्त्र लेखाउने चलन छ । परापूर्वकालमा बृहस्पति ऋषिले सो स्थानमा बसेर तपस्या गर्दा तिलेश्वर महादेव उत्पत्ति भई माता सरस्वतीको आह्वान गर्न लगाएपछि ऋषिले सरस्वतीको आह्वान गर्दा सरस्वती जलका रुपमा उत्पत्ति भई बसेको भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
सरस्वती कुण्ड परिसरमा विसं १८७६ मा लेखिएको एक शिलालेखमा काठमाडौँ फर्पिङका आचार्यले सो मितिमा लेले आई कुण्डको लेउ सफा गरेको कुरा उल्लेख छ । लेले तिलेश्वरमा सरस्वती कुण्डका साथै तिलेश्वर महादेव मन्दिर, गङ्गाजमुना पोखरी, गणेश, कुमार, नवदुर्गालगायत मूर्ति पनि छन् । सो मन्दिर पुग्न लगनखेलबाट चापागाउँ हुँदै लगभग १६ किलोमिटर दूरी पार गर्नुपर्छ । लेले चारैतिर हरिया डाँडाले भरिएको क्षेत्र हो ।नेवार, क्षेत्री, तामाङ, नगरकोटीको बसोबास रहेको लेले शहर ललितपुरको एक प्रसिद्ध स्थान मानिन्छ ।
किन मनाउने ?
हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी । सरस्वती विद्याकी ।
वास्तवमा यी प्रतिकात्मक देवी हुन् । अर्थात जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति ।
आज विद्याकी देवीको पूजा गरिने दिन । विद्या/ज्ञान/शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ ।
संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ ।
बोधिसत्व मञ्जुश्री
आजको दिनलाई बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्छन् ।
वसन्त आगमनको उल्लास
आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजनको दिनलाई वसन्त पञ्चमी भनिएको हो ।