
धादिङ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक जित्न सफल खेलाडी उत्सव पुरीलाई प्रतियोगिता सम्पन्न गरी स्वदेश फर्कने क्रममा धादिङको महादेवबेसीमा भव्य स्वागत तथा सम्मान गरिएको छ।
भारतको लुधियानामा सम्पन्न तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक हासिल गर्न सफल उत्सव पुरीलाई स्थानीयवासी तथा खेलप्रेमीहरूले फूलमाला र खादा लगाएर स्वागत गरेका हुन्।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पदक जित्न सफल पुरीको उपलब्धिलाई धादिङ जिल्लाकै गौरवका रूपमा लिइएको छ। उनको सफलताले जिल्लाका युवा खेलाडीहरूलाई खेलकुद क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
महादेवबेसीमा आयोजित स्वागत कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा बढाउने खेलाडीप्रति स्थानीय समुदायको सम्मान, माया र उत्साहलाई प्रतिबिम्बित गरेको छ।