नेविसंघ बर्दियाद्वारा चरणवद्ध आन्दोलनको घोषणा, सार्वजनिक यातायातमा ४५% छुट र निःशुल्क शिक्षाको माग


बर्दिया, २० पुस ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति बर्दियाले विद्यार्थीका विभिन्न मागहरू सम्बोधन नभएको भन्दै आगामी पुस २१ गते सोमबारदेखि चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ। संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह र जिल्ला प्रशासनमार्फत बुझाइएको ज्ञापनपत्रको सुनुवाइ नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार संघले संविधानप्रदत्त निःशुल्क र अनिवार्य शिक्षाको अधिकार कार्यान्वयन गर्न र सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई प्रदान गरिने ४५ प्रतिशत छुटलाई प्रभावकारी बनाउन माग गरेको छ। नेविसंघले शिक्षा सेवाका नाममा लिइँदै आएका अवैध शुल्क फिर्ता हुनुपर्ने, विद्यालयको दिवा तथा रात्री खाजा सेवामा स्वच्छता र पारदर्शिता हुनुपर्ने तथा निजी विद्यालयको शुल्क र छात्रवृत्ति प्रणालीको नियमन गरिनुपर्ने ८ बुँदे माग अघि सारेको छ।
त्यसैगरी, कक्षा ८ देखि १० सम्मका विद्यार्थीसँग ट्युसनका नाममा लिइने महँगो शुल्क रोक्न र विद्यालयमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाउन समेत माग गरिएको छ। नेविसंघ बर्दियाका अध्यक्ष असिम विक्रम शाह र कार्यक्रम संयोजक अमर बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा मागहरू तत्काल सम्बोधन नभए सिर्जना हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी दिइएको छ।
@shinenews