पालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता प्युटारमा सम्पन्न।


ललितपुर प्युटार:- आधारभूत तहका विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि बागमती गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। पालिकाका माल्टा ,भट्टेडाँडा, प्युटार, इकुडोल, आस्राङ र गिम्दीका नौवटा आधारभूत विद्यालयले उक्त हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाएका थिए। सहभागी आठवटा विद्यालयलाई पछाडि पार्दै गृह क्षेत्रमा प्युटारको कालीदेवी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा गिम्दीको नारायणी माध्यमिक विद्यालय दोस्रो भएको छ भने आस्राङको बाल मनोरमा आवि तेस्रो भएको छ। त्यस्तै भट्टेडाँडाको भट्टेडाँडा आधारभूत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालय र विद्यार्थीलाई ट्रफी ,प्रमाणपत्र नगद तथा अन्य पुरस्कार प्रदान गरिएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा पेशागत महासङ्घ नेपाल ललितपुरका सचिव तथा बुद्धिजीवी नवराज सञ्जेलले विद्यार्थीहरूको क्षमता पहिचानका लागि यस्ता कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीको सिकाइ उपलब्धिमा समग्र सुधार गर्नुपर्ने अवस्था अनुभूत भएको प्रतिक्रिया दिनुभयो। कार्यक्रमका विशेष अतिथि तथा बागमती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष होम प्रसाद बजगाईले विद्यार्थीहरूलाई यस्ता अतिरिक्त क्रियाकलापमा निरन्तर रुपमा सहभागी गराउनुपर्ने धारणा राख्नुभयो।
प्रतियोगितामा माल्टाको कालीदेवी मावि, इकुडोलको जनजागृति मावि, आस्राङको विद्याधीश्वरी मावि सहित खैरेनी आवि तथा बागमती आविको सहभागिता रहेको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला समितिका सल्लाहकार नवराज सञ्जेल सहित अतिथिमा जिल्ला उपाध्यक्ष हरिहर लामिछाने, जिल्ला सचिव दामोदर आचार्य, जिल्ला कोषाध्यक्ष दिलकुमार महर्जन, जिल्ला सदस्यहरू बाबुलाल घलान, रामप्रसाद बजगाईं कपिन्द्र आचार्य, कालीदेवी माविका प्रधानाध्यापक ठाकुर लामा,शिक्षक हितका सञ्चालक सदस्य तथा नारायणी माविका प्रधानाध्यापक इश्वर सञ्जेल ,महालक्ष्मी संगठन अध्यक्ष शेर बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाउन पाउँदा आफूहरुलाई धेरै खुसी लागेको र पाठ्यक्रममा आधारित प्रश्न समेत भएकाले पढाइमा थप सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।
उक्त प्रतियोगितामा प्रथम हुने विद्यालयले नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरले आयोजना गर्ने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बागमतीका अध्यक्ष गोविन्दप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष थलप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव करणबहादुर चन्दले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।