थिङ थेमे (परिवार) को प्रथम राष्ट्रिय भेला काठमाडौंमा भव्य रूपमा सम्पन्न


काठमाडौं, पौष २७–२८ । नेपालभरि तथा विदेशमा रहेका थिङ तामाङ समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा थिङ थेमे (परिवार) को प्रथम राष्ट्रिय भेला दुई दिनसम्म काठमाडौंमा भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
यस भेलाले थिङ तामाङ समुदायलाई साझा पहिचान, इतिहास, संस्कृति र वंशीय एकताको सूत्रमा बाँध्दै संस्थागत यात्राको ऐतिहासिक सुरुवात गरेको आयोजकहरूको भनाइ छ।
भेलाको पवित्र आरम्भ साङ सेर्केम (पूजा–अनुष्ठान) बाट गरिएको थियो। प्रमुख अतिथिका रूपमा लापतबा नारायण सिंह थिङ तामाङ (जेठा लाप्टाबा/मुख्य पुरोहित) को उपस्थिति रहेको थियो। राष्ट्रिय भेलामै पहिलोपटक सार्वजनिक रूपमा प्रस्तुत गरिएको थिङ थेमे तामाङ गीत ले पहिचान, संस्कृति र एकताको सशक्त सन्देश प्रवाह गर्दै सम्पूर्ण सभालाई भावनात्मक बनाएको थियो।
कार्यक्रममा वडा अध्यक्ष वीरबल तामाङ ले थिङ थेमेको उत्पत्ति, बोल्काङ क्षेत्रमा निर्माण प्रस्तावित थिङ ङार्दिम (पूर्वजको घर) तथा भावी थिङ केन्द्र निर्माणसम्बन्धी दीर्घकालीन योजना प्रस्तुत गर्नुभयो। उहाँले थिङ तामाङको इतिहास र पहिचानलाई संस्थागत रूपमा जगेर्ना गर्न यो अभियान अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो।
तामाङ अध्ययन प्रतिष्ठान का अध्यक्ष तथा समाजशास्त्री डा. मुक्त सिं लामाद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन अनुसार तामाङ जातिभित्र हाल ११३ वटा थर (ह्रुई) रहेका छन्। तीमध्ये सबैभन्दा बढी जनसंख्या थिङहरूको रहेको र कुल तामाङ जनसंख्याको ९.८९ प्रतिशत हिस्सा थिङ समुदायको रहेको महत्वपूर्ण तथ्य सार्वजनिक गरिएको थियो।
थिङ थेमेका सदस्य उदय थिङ तामाङ तथा अनुसन्धान टोलीले थिङ थेमेको इतिहास, संस्कार, परम्परा र वंशावलीसम्बन्धी हालसम्मका अनुसन्धान र आगामी अध्ययन योजनाबारे विस्तृत प्रस्तुति दिनुभयो। निष्णु थिङ तामाङ द्वारा प्रस्तुत अवधारणापत्रले संस्थाको भावी दिशा स्पष्ट गरेको थियो भने प्रमुख संरक्षक सोम थिङ तामाङ ले संस्थाको विधान प्रस्तुत गर्दै संगठनात्मक संरचना र कार्यदिशा सार्वजनिक गर्नुभयो।
भेलाको मुख्य उपलब्धिका रूपमा मिङमार थिङ को अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।केन्द्रीय कार्यसमितिमा:अध्यक्ष: मिङमार थिङवरिष्ठ उपाध्यक्ष: अमृत थिङ उपाध्यक्षहरू: काजीमान थिङ, डा. कमल बहादुर थिङ, शान्ति थिङ, सोम बहादुर थिङ
महासचिव: राजकुमार थिङ उपमहासचिव: सफलता थिङ सचिवहरू: वीरबल थिङ, सृजना थिङ, रबिन्द्र थिङफकोषाध्यक्ष: जगत बहादुर थिङ सहित अन्य सदस्यहरू रहेका छन्।भेलाको दोस्रो दिन सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले अनुसन्धान, निर्माण तथा कानुनी दर्तासम्बन्धी उप–समितिहरू गठन गर्दै संस्थागत कार्यलाई व्यवहारिक चरणमा लैजाने निर्णय गरेको छ।
सहभागीहरूका अनुसार यो भेला केवल औपचारिक कार्यक्रम मात्र नभई थिङ थेमे (वंश) को संस्थागत यात्राको ऐतिहासिक प्रारम्भ हो। संस्थाले साझा पहिचान, इतिहास, संस्कृति र पुर्ख्यौली थलोको संरक्षण तथा प्रवर्द्धनमार्फत भावी पुस्तामा मौलिक पहिचान हस्तान्तरण गर्ने लक्ष्य लिएको छ।
थिङ थेमे (वंश) ले तामाङ भाषा, लिपि, कला, साहित्य, भेषभूषा, संस्कार–संस्कृति, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको खोज, संरक्षण र संवर्द्धन गर्दै थिङहरूको सोह्रौँ प्रणाली, दस्तावेजीकरण, लिप्यन्तरण विधि तथा डारिम (आदिम पुर्ख्यौली घर/थलो) को संरक्षणमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ। साथै, नेपालभित्र तथा विदेशमा रहेका थिङहरूबीच सहकार्य, समन्वय र एकताको सेतु निर्माण गर्ने उद्देश्य व्यक्त गरिएको छ।
आयोजक संस्थाले भेला सफल बनाउन योगदान दिने सम्पूर्ण सहभागी, कलाकार, विद्वान्, सल्लाहकार तथा विश्वभर रहेका थिङ परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै थिङ थेमे (वंश) पहिचान, एकता र गौरवको यात्रामा थिङ थेमे (वंश) सधैँ अग्रणी रहने अपेक्षा व्यक्त गरिएको छ।