
काठमाडौँ । पर्वतारोहण र ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकलाई नक्कली उद्धार (फेक रेस्क्यू) गरी करोडौँ ठगी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं पर्यटन व्यवसायी मुक्ति पाण्डेसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले आइतबार उनीहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा रास्वपा गोरखा क्षेत्र नं. १ का उम्मेदवार सुदन गुरुङका प्रचार संयोजक समेत रहेका मुक्ति पाण्डे (गोरखा), जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया र सुभाष केसी रहेका छन्। उनीहरू विभिन्न ट्राभल र रेस्क्यू कम्पनीका सञ्चालक तथा पदाधिकारी हुन्।
सीआईबीका अनुसार, यी व्यवसायीहरूले सामान्य बिरामी भएका वा बिरामी नै नभएका पर्यटकलाई जबर्जस्ती हेलिकोप्टरमार्फत उद्धार गरेको नक्कली कागजात बनाई अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट ठुलो रकम दाबी गर्ने गरेका थिए। अनुसन्धानमा माउन्टेन रेस्क्यू सर्भिस, नेपाल चार्टर सर्भिस र एभरेष्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिमार्फत करिब २ करोड अमेरिकी डलर (झण्डै ३ अर्ब नेपाली रुपैयाँ) बराबरको शंकास्पद कारोबार भएको खुलेको छ।
पक्राउ परेकाहरूलाई संगठित अपराध र ठगीको कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यो प्रकरणले नेपालको पर्यटन क्षेत्र र अन्तर्राष्ट्रिय छविमा गम्भीर धक्का पुगेको पर्यटन विज्ञहरूको चिन्ता छ।