राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसद्वारा ९ उम्मेदवार चयन

काठमाडौँ, २३ पुस
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७ वटै प्रदेशबाट गरी कुल ९ जना उम्मेदवार मनोनयन गर्ने निर्णय गरेको हो।
बैठकले कोशी प्रदेशबाट सुनीलकुमार थापा (अन्य), मधेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपाङ्गता/अल्पसंख्यक) तथा बागमतीबाट गीता देवकोटा (महिला) लाई उम्मेदवार बनाएको छ। त्यस्तै, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट वासुदेव जङ्गली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई चुनावी मैदानमा उतार्ने निर्णय भएको छ।
बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू र अन्य सदस्यहरूले आ-आफ्नो धारणा राख्नुभएको थियो। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार यो निर्णय पार्टीको विधान २०१७ को धारा ३२(९) बमोजिम गरिएको हो।