रास्वपाको समानुपातिक सूचीमा 'प्राइमेरी' उलटपुलट: पार्टीभित्र तीव्र असन्तोष


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि चुलिएको छ। पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास भन्दै गरेको 'प्राइमेरी इलेक्सन'को नतिजा र आयोगमा बुझाइएको अन्तिम सूचीबीच ठूलो खाडल देखिएपछि विवाद सतहमा आएको हो।
पार्टी नेतृत्वले प्राइमेरीमा लोकप्रिय मत ल्याएका उम्मेदवारलाई पन्छाएर कम मत ल्याएका र अन्य समूहबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप लागेको छ।
विवादका बीच पार्टीले प्रकाश सपुत र पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल जस्ता चर्चित अनुहारहरूलाई पनि ११० जनाको बन्दसूचीमा समावेश गरेको छ।
"प्राइमेरी इलेक्सनलाई आधार मानेर उम्मेदवार छनोट गर्ने प्रतिबद्धता विपरीत नेतृत्वले 'सेटिङ'मा नाम तलमाथि गरेको भन्दै पुराना कार्यकर्ताहरूले सामाजिक सञ्जाल र पार्टी बैठकहरूमा आक्रोश पोखिरहेका छन्।"
पार्टी नेतृत्वले भने एकता प्रक्रिया र समावेशी सन्तुलन मिलाउनुपर्ने कानुनी बाध्यताका कारण सूचीमा केही परिमार्जन गर्नुपरेको दाबी गरेको छ। यद्यपि, प्राइमेरीको नतिजालाई लत्याउँदा आगामी निर्वाचनमा यसले पार्टीको छवि र जनमतमा कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ।
@shinenews