
रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको छ। अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ पठाइएको जनाइएको छ।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, स्काउट र रेडक्रससँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका कदम अघि बढाइएको छ। थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि अघि बढाइएको बताइएको छ।
बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (CDO) लाई निर्देशन दिइएको छ। स्थानीयलाई एसएमएस तथा फोनमार्फत सचेत गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सम्भावित उद्धारका लागि सरकारी तथा निजी हेलिकप्टरलाई समेत स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ। आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठकसमेत बोलाइएको जनाइएको छ।
सम्बन्धित निकायले सबैलाई सुरक्षित स्थानमा बस्न र आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा आधिकारिक उद्धार तथा राहतसम्बन्धी अपडेट कुर्न आग्रह गरेको छ। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
@shinenews