
✍️विनोद शाही ठकुरी
रसुवा बाढीमा विभिन्न जोखिम क्षेत्रमा पुगेर उद्धारमा सक्रिय नेपाली सेनाका सह–सेनानी (क्याप्टेन) अभिषेक शाहीको नेतृत्वको टोलीले सोमबार रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी कार्य गर्यो। यद्यपि त्यहाँभित्र मान्छे रहेको पाइएन।
यसअघि यो टोलीले अपर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर र स्थानीयको सफल उद्धार गरेको थियो। त्यस क्रममा एउटा तस्बिर र भिडिओ ‘आइकोनिक’ नै बन्यो।
संसारका सबैजसो साना—ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उक्त तस्बिर छायो। बिबिसी, सिएनएन, द न्युयोर्क टाइम्स, अलजाजिरा र द गार्जियन जस्ता ठूला सञ्चार माध्यमहरूले उक्त तस्बिर र भिडियोको प्रशंसामूलक रिपोर्ट तयार पारेका छन्। ‘ग्लोबल आइकन’ भनिएको उक्त तस्बिरमा नेपाली सेनाका एक अधिकारीले आफ्नो ज्यान जोखिममा पारेर हात फसेका व्यक्तिलाई समातिरहेको देखिन्छ।
हिलोमा फसिरहेको अवस्थामा फसेका व्यक्ति र सेनाका अधिकारीको हातको मिलनविन्दुलाई निकै कारुणाले भरिएको थियो। कतिपयले उक्त तस्बिरको व्याख्या गर्दै भनेका छन्—यो उद्धार कार्य मात्र होइन, ‘एक आशाको हात’ थियो। कतिपयले ‘साहस र करुणाको स्थायी दस्तावेज’का रूपमा पनि चर्चा गरेका छन्। मृत्युको मुखमा पुगेका व्यक्तिलाई पुनर्जीवन दिएको सन्देश तस्बिरले देखाउँछ।
वरिपरि बाक्लो हिलाम्य। कुनै पनि अवस्थामा पहिरो खस्न सक्ने वा हिलोमा भासिन सक्ने जोखिम थियो। त्यस्तो डरलाग्दो अवस्थामा पनि नडराएरै कम्मरमा डोरी बाँधेर, घिस्रिँदै गएर अर्को मानिसलाई बचाउनुले ती सेना अधिकारीको अदम्य साहस र व्यावसायिकतालाई झल्काउँछ।
उक्त तस्बिरमा देखिने सेनाका अधिकारी हुन्, सह–सेनानी (क्याप्टेन) अभिषेक शाही। दैलेखको ठाटीकाँध गाउँपालिका—१, सिराडी निवासी शाही हाल रेन्जर गण छाउनीमा कार्यरत छन्। उनको कमान्डमा १५ जनाको उद्धार टिम रसुवा गएको थियो। उनी जोखिम क्षेत्रको नेतृत्व गर्न नडराउने सैनिक अधिकारी हुन्। हरेक जोखिम काममा आफै अग्रसर हुन्छन्, शाही। सानैदेखि उनी जोखिम कार्यमा अग्रसर हुन नडाराउने युवाका रुपमा परिचित थिए।
उनकै कमान्डमा टनेलभित्र ३५० भन्दा बढी मानिसहरूको उद्धार भयो। स–साना नानीहरूलाई काँधमा बोकेर, वृद्धवृद्धालाई सहारा दिएर र बाढीको बीचमा डोरीको सहायताले मानिसहरूलाई तारेको थियो, उनको टोलीले। क्याप्टेन शाहीको टोलीले देखाएको तदारुकताको चौतर्फी चर्चा भइरहेको छ।
Proud of you dear Avi-sek Shahi Thakuri