
२० औँ एसियन गेम्स नजिकिँदै गर्दा नेपाली उशुका उत्कृष्ट खेलाडी विजय सिन्जालीलाई यसपालिको सबैभन्दा बलियो पदक दाबेदारका रूपमा हेरिएको छ। उनले तेस्रो थाउलो विश्वकपमा कास्य पदक जित्दै नेपालको उसु इतिहासमै महत्वपूर्ण उपलब्धि हासिल गरे।

यो हालसम्मको उनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो। उक्त ऐतिहासिक जितको सम्मानस्वरूप सरकारले उनलाई रु.६५ लाख नगद पुरस्कार प्रदान गरेको थियो।
त्यसैगरी उनले १३ औँ सागमा स्वर्ण पदक र १२ औँ सागमा रजत पदक जितेका थिए।रियादमा सम्पन्न वल्ड कम्ब्यट गेम्समा स्वर्ण पदक जितेर उनले दक्षिण एशियाका सम्पुर्ण उसु खेलाडिहरुलाई नै चकित बनाएका थिए तर सरकार बाट प्राप्त हुनु पर्ने पुरस्कार बाट भने तत्काल सरकारले बञ्चित गरायो। अघिल्लो एसियन गेम्समा पनि उनले छैटौँ स्थान हासिल गर्दै एसियाली स्तरमा आफ्नो क्षमता प्रमाणित गरेका थिए। उनी हालै न्युजिल्यान्डमा आफ्नै लगानीमा प्रशिक्षण लिएर फर्किएका छन् र चौथो थाउलो वर्ल्ड कपमा पनि सहभागी भएका थिए।

उत्कृष्ट प्रदर्शनका क्रममा सानो त्रुटिका कारण उनी पदकबाट चुके, तर उनको समग्र तयारी र प्रदर्शनले ठूलो विश्वास जगाएको छ। उनी नेपाली सेनामा आबद्ध छन् र अहिले मिशन२०२६ प्रशिक्षण शिविरमा कडा मेहनत गरिरहेका छन्।
सीमित स्रोत र साधनका बीचमा पनि आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको तयारी गर्नु उनको समर्पण र अठोटको ठूलो उदाहरण हो। यी सबै आधारमा, विजय सिन्जाली२० औँ एसियन गेम्समा नेपालको सबैभन्दा बलियो पदक आशाको रूपमा अगाडि उभिएका छन्।