सङ्खुवासभाका विद्यार्थी संगठनद्वारा जलविद्युत आयोजनाहरूसँग ११ बुँदे माग


खाँदबारी, सङ्खुवासभा
सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो लगायतका विभिन्न जलविद्युत आयोजनाहरूले स्थानीयको माग र आवश्यकतालाई बेवास्ता गरेको भन्दै जिल्लास्थित विद्यार्थी संगठनहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन्। नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) सङ्खुवासभाले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाउँदै आयोजनाहरूमा स्थानीय जनतालाई रोजगारीको पहिलो प्राथमिकता दिनुपर्ने अडान राखेका छन्।
विद्यार्थी संगठनहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाका प्रत्येक क्याम्पसलाई एक–एक थान बस र प्रत्येक स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराउनुपर्ने माग गरेका छन्। त्यसैगरी, जिल्लाका एक हजारभन्दा बढी विद्यार्थीलाई वार्षिक रूपमा उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नुपर्ने, सडकको उचित व्यवस्थापन तथा मर्मत गर्नुपर्ने र स्थानीय बजार तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने विषय पत्रमा उल्लेख छ।
आयोजनाका क्रममा हुने दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र जग्गाको मुआब्जाको बाँकी बक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्ने माग पनि जोडदार रूपमा उठाइएको छ। स्थानीय सम्पत्तिको संरक्षण गर्दै कम्पनीको सेयरमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग राख्दै विद्यार्थीहरूले यी मागहरू पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। यसअघि पनि यिनै मागहरू राखेर ध्यानाकर्षण गराइएको भए तापनि हालसम्म कुनै सुनुवाइ नभएकाले पुनः संयुक्त रूपमा प्रशासनको ढोका ढकढक्याउनु परेको विद्यार्थी नेताहरूले बताएका छन्।
@shinenews