
ललितपुर — नेपाली कांग्रेसको पालिका अधिवेशन भोलि हुने भएपछि महाङ्काल गाउँपालिकाको गाउँपालिका सभापति पदका लागि विभिन्न नेताहरूको नाम चर्चामा आएको छ।
सभापति पदका लागि प्रविण तामाङ, मनोजकुमार पराजुली, विनोद चौरेल, रमेशप्रसाद घिमिरे, तुलाप्रसाद तिमल्सिना, ठाकुरप्रसाद घिमिरे र भूमिनन्द घिमिरे आकांक्षीका रूपमा देखिएका छन्।
प्रविण तामाङ मानिखेलका पूर्व इकाई सभापति हुन् भने मनोजकुमार पराजुली गोटिखेलका पूर्व इकाई सभापति हुन्। त्यस्तै विनोद चौरेल पनि पूर्व इकाई सभापति रहिसकेका छन्।
रमेशप्रसाद घिमिरे नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ प्रदेशका सचिव, तुलाप्रसाद तिमल्सिना जिल्ला सदस्य तथा ठाकुरप्रसाद घिमिरे का.ब. सभापतिको जिम्मेवारीमा रहेको बताइएको छ। भूमिनन्द घिमिरे पनि सभापति पदका आकांक्षीका रूपमा चर्चामा छन्।
भोलि हुने अधिवेशनसँगै महाङ्काल कांग्रेसको नेतृत्व चयनका लागि आकांक्षीहरूबीच सहमति जुट्ने वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने विषयमा कार्यकर्तामाझ चासो बढेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।