प्रथम चारघरे राष्ट्रिय व्यापी महिला तथा पुरुष खुल्ला क्युकोशिन कराते प्रतियोगिता-२०८३ सम्पन्न

ललितपुर, १२ वैशाख ।
"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीमा 'प्रथम चारघरे राष्ट्रिय व्यापी महिला तथा पुरुष खुल्ला क्युकोशिन कराते प्रतियोगिता-२०८३' भव्यताका साथ सम्पन्न भएको छ। चारघरे फुल-कन्ट्याक्ट इन्कोपोरेट क्युकोशिन कराते फाउन्डेसन (IKF) द्वारा आयोजित यस प्रतियोगिताको मुख्य प्रायोजन चारघरे युवा समूहले गरेको थियो। फाउन्डेसनका अध्यक्ष हेम राज तामाङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथिको रूपमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन सहभागी हुनुहुन्थ्यो। त्यसैगरी, विशेष अतिथिका रूपमा गोदावरी वडा नं. १० का वडा अध्यक्ष शेखर न्यौपाने र चापागाउँ महानगरीय प्रहरी वृत्तका प्रमुख शिला थापा उपस्थित हुनुहुन्थ्यो।

खेलकुद विकास र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस सभामा करातेका विभिन्न पदाधिकारीहरू र प्रशिक्षकहरूको पनि सहभागिता थियो। जसमा क्याकोसिन करातेका ब्रान्च चिफ जय देशार, आई.के.एफ.का केन्द्रीय उपाध्यक्ष रमेश देशार र प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ लगायतले खेलकुदको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।

प्रतियोगितामा देशैभरका प्रतिभावान खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमध्ये प्रमुख विजेताहरू यसप्रकार छन्:
पुरुष २५ केजी: रिजन मोक्तान (प्रथम), सुशील तामाङ (द्वितीय), संयोग दर्लामी मगर (तृतीय)
पुरुष ३० केजी: आरुष हेमजा (प्रथम), सिद्धार्थ थापा (द्वितीय), शीतल राज बुढा (तृतीय)
पुरुष ३५ केजी: युनिक स्याङ्तान (प्रथम), सुजल बस्नेत (द्वितीय), रोशन कार्की (तृतीय)
पुरुष ५० केजी: समीर विश्वकर्मा (प्रथम), सफल मार्पा (द्वितीय), आकाश थिङ (तृतीय)
पुरुष खुल्ला (Male Open): सरोज तामाङ (प्रथम), विश्वास तामाङ (द्वितीय), राजिब राउत (तृतीय)
महिला ४० केजी: शिवानी आले मगर (प्रथम), बिमला मुक्तन (द्वितीय), रेखा रोकाया (तृतीय)
महिला ५० केजी: साधना लोप्चान (प्रथम), कृपा खड्का (द्वितीय), निमा लोप्चान (तृतीय)

समापन समारोहमा बोल्दै प्रमुख अतिथि महर्जनले स्थानीय स्तरमा यस्ता राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन हुनुले खेलकुद र पर्यटन दुवैको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। फाउन्डेसनका अध्यक्ष तामाङले आगामी दिनमा पनि मार्सल आर्ट्सको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।